कविता- पागल (लक्ष्मी प्रसाद देवकोटा)
जरुर साथी म पागल यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पतला कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ- एक किसिमका चकोर फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न । जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु । तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सँग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ । म