पारीजातको कबिता - बलात्कृतको बयान

बलात्कृतको बयान


जंगली फूलहरु फुलेको भिरालोमा 
पैतालाको काँडा झिक्तैथेँ, हजूर!
बाघ चितुवाको शिकार
खेले जस्तो होइन
मान्छेहरु जस्तै 
मान्छेहरुले जस्तै
सुसेल्दै, गीत भन्दै
छिल्लिँदै र जिस्किँदै
बनपाले र उनका मतियारहरुले
मेरो ज्यानसँग
जथाभावी गरे
मेरो इज्जत सबै लुटे
मलाई रक्ताम्मे पारे
काल नआएकी म
मर्न सकिनँ, हजूर।
माइती एकादेशमा
लोग्ने निम्छरो
ठूला–बडाको मुख हेरी
गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर।
बाहिर मेरो रक्षे गर्ने कोही छैन
मलाई ऊ... त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर!
झ्यालखानाभित्र।

Comments

Popular posts from this blog

कविता- पागल (लक्ष्मी प्रसाद देवकोटा)

‘तिम्रो भागमा फूल पर्‍यो’ सार्वजनिक

गजल